राति १० बजेपछि विवाह गर्न रोक

पाकिस्तानमा ऊर्जा संकट

इस्लामाबाद – पाकिस्तान सरकारले इस्लामाबादमा राति १० बजेपछि हुने विवाह समारोहमा प्रतिबन्ध लगाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबारदेखि प्रतिबन्ध लागू भएको छ।

जियो न्यूजका अनुसार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको निर्देशनमा उक्त प्रतिबन्ध लागू गरिएको हो। साथै विवाहमा सहभागी पाहुनालाई एउटा मात्र परिकार खुवाउन अनुमति दिइनेछ। साथै सरकारले साढे आठ बजे देशभरका बजार बन्द गर्ने निर्णय गरेको छ। बिजुली बचत गर्न यस्तो कदम चालिएको सरकारले जानकारी दिएको छ।

इस्लामाबादका डेपुटी कमिशनरले इरफान नवाज मेमोनले धारा राति १० बजेपछि बिहे गर्ने र बिहे भोजमा एकभन्दा बढी परिकार राख्नेलाई अपराध मानी कारबाही गरिने स्पष्ट पारेका छन्। यो निर्देशन होटेल र हललाई पनि दिइसकेको उनले बताए। त्यस्ता व्यक्तिलाई थुनिने बताए।
यो नियम उल्लङ्घन गरेमा प्रशासनले कडा कारबाही गर्ने चेतावनी दिएको छ।

‘जियो न्युज’ का अनुसार चरम विद्युत संकट झेलिरहेको पाकिस्तानले बिजुलीको खपत घटाउन यस्ता कदम चाल्नुपरेको हो।

हालको विद्युत् संकटले पाकिस्तानको अर्थतन्त्र निकै प्रभावित भएको छ। जसका कारण राष्ट्रिय आर्थिक परिषद् (एनईसी) ले देशभरका बजारहरू राति ८:३० बजे बन्द गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा भएको विद्युत् संकटका सम्बन्धमा भएको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा खैबर पख्तुनख्वाका बाहेक सबै प्रान्तका मुख्यमन्त्रीहरू सहभागी थिए।

यस सम्बन्धमा जारी एक विज्ञप्तिमा भनिएको छ‚ ‘सिन्ध, पञ्जाब र बलुचिस्तानका मुख्यमन्त्रीहरूले व्यापारी संघसँग परामर्श गर्न दुई दिनको समय मागेका छन् तर उनीहरू यो कदममा सहमत भएका छन्।’

विद्युत्‌मन्त्री खुर्रम दस्तगीरले पत्रकारलाई सम्बोधन गर्दै बजार चाँडै बन्द गर्ने र घरबाट काम गर्ने प्रणालीले विद्युत् जोगाउन सकिने बताए।

२६ हजार मेगावाट माग भए पनि २२ हजार मेगावाट विद्युत् उत्पादन हुने गरेको उनले बताए। उनले भने‚ ‘मुलुकमा करिब ४ हजार मेगावाट विद्युत् अभाव छ।’

केन्द्रीय मन्त्रिपरिषद्ले सरकारी कार्यालयमा शनिबार साप्ताहिक बिदा पुनः दिने भएको छ। मंगलबार मन्त्रिपरिषद्‌को बैठकपछि केन्द्रीय सूचना र प्रसारणमन्त्री मरियम औरंगजेबले उक्त घोषणा गरेका हुन्।

अन्तरराष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य आकासिएको बेला विद्युत्‌ अभावलाई सम्बोधन गर्न विद्युत् विभागले ऊर्जा संरक्षण योजना पेश गरेको थियो। ऊर्जा संकट बढेपछि शहबाज सरकारले प्रतियुनिट विद्युत्‌मा ७ रुपैयाँ ९० पैसा भाउ बढाएको छ। हाल प्रतियुनिट १६ रुपैयाँ ९१ पैसा पुगेको छ। छिटै यो प्रतियुनिट २४ रुपैयाँ पुग्ने सूचना जारी गरिएको छ।

यसैगरी पाकिस्तानका ग्रामीण क्षेत्रमा १२र१२ घण्टासम्म लोडसेडिङ हुने गरेको छ। पेट्रोलियम पदार्थ र प्राविधिक लगायतका समस्याले कैयौँ वावर प्लाण्ट हाल बन्द गरिएका छन्।

यसका साथै मन्त्री र सरकारी कर्मचारीको इन्धन कोटामा ४० प्रतिशत कटौती गरेको छ। अत्यावश्यक बाहेकका यात्राबाट जोगिन सरकारी बैठक अनलाइन मार्फत गर्ने र ऊर्जा बचतमा सचेतना अभियान सञ्चालन गरिएको छ। मे २६ मा पाकिस्तानमा पेट्रोलको मूल्य ३० रुपैयाँले बढेको थियो। अहिले पाकिस्तानमा प्रतिलिटर पेट्रोललाई २१० रुपैयाँ पर्छ।