काठमाडौं – सम्पर्कविहीन भएको तारा एयरको एउटा विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको उक्त जहाज हिजो बिहानदेखि सम्पर्कविहीन छ ।
सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११, लोटागाउँका सातजना रहेको पुष्टि भएको छ ।
विमानमा राजनकुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । उनीहरू मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँले चिन्तित भएका छन् ।
सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ जना सवार रहेको जनाइएको छ । – रासस