सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय क्याम्पस, सुर्खेतले रणनीतिक योजना निर्माण गर्ने भएको छ ।
केन्द्रीय क्याम्पस सुर्खेतमा कार्यरत प्राध्यापक तथा कर्मचारीको शुक्रबार सम्पन्न बैठकले रणनीतिक योजना निर्माण गर्न क्याम्पस प्रमुखको अध्यक्षतामा समिति गठन गरेको छ ।
मानविकी र सामाजिकशास्त्रको महत्व स्थापित गर्न तथा समाजसंग सहकार्य गर्न रणनीति आवश्यक भएको क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले बताए ।
अनका अनुसार, हाल पेशागत विषयमा विद्यार्थीको बढी आकर्षण भएको पाएकाले मानव अनुभवको कुरा मानविकीले भन्दै समाज बुझ्न सामाजिकशास्त्र अपरिहार्य रहेकाे छ । हामीले कसरी मानविकी अन्तर्गतका विषयलाई पेशागत बनाउन सकिन्छ भन्नेमा पनि ध्यान दिने बेला आएको छ ।’ उनले भने ।
बैठकमा मानविकी र सामाजिकशास्त्र संकायका निमित्त डिन कमलेश डिसीले प्राविधिक विषय पढेपनि काम गर्ने थलो मानव समाज भएकाले विद्यार्थीले समाज बुझ्न जरुरी भएको बताए ।
सामाजिकशास्त्र अन्तर्गतका विषयले विद्यार्थीलाई समाजमा घुलमिल हुन सिकाउँने उनकाे भनाई छ ।
बैठकले केन्द्रीय क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि गरी समग्र विश्वविद्यालयको स्तर सुधार्न विभिन्न समितिहरु समेत गठन गरेको छ ।
उक्त समितिहरुलाई आवश्यक कार्यविधि निर्माण तथा कार्यान्वयनको अधिकार रहेको सहायक क्याम्पस प्रमुख ललितजंग शाहीले जानकारी दिए ।
विश्वविद्यालयमा कोभिड १९ को संक्रमणलाई ध्यान दिंदै सामाजिक दुरी कायम गरी बैठकको आयोजना गरिएको थियो ।