काठमाडौंको मेयरमा बालेनलाई करिब २५ सय मतको अग्रता

भरतपुरमा रेणु भन्दा सुवेदी अगाडि

काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ ।

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार बालेन शाहले ५ हजार ४ सय ४६ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले २ हजार ९ सय ५२ मत ल्याउदा कांग्रेसकी सिर्जना सिंहले २ हजार ३ सय १५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिनुभएको छ । उहाँले ३१ सय ३७ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ३ सय २७ मत प्राप्त गर्नुभएको छ । उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ ।

पछिल्लो परिणाम अनुसार सुवेदीले ३ हजार ७५ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ४६ मत पाउनु भएको छ । यस्तै, विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राख्नु भएको छ ।

अहिलेसम्म उहाँले ४ हजार ३० मत प्राप्त गर्दा एमालेका सागर थापाले २८ सय ११ मत पाउनु भएको छ । यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले २१ सय ९५ मत प्राप्त गर्दा एमालेका कृष्णबहादुर थापाले १९ सय ७० मत पाउनु भएको छ ।

वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ सय ३२ मत प्राप्त गर्दा एमालेका विजयकुमार सरावगीले १२ सय ८६ मत ल्याउनुभएको छ ।