कोरोना संक्रमितको मृत्यु भएपछि श्राद्ध गर्ने पुरोहितसहित २५ जना आइसोलेसनमा

 बुटवल– रुपन्देहीको सैनामैनामा कोरोना संक्रमणबाट मृत्यु महिलाको घरमा श्राद्ध गराउन गएका पुरोहितसहित श्राद्धमा सहभागि २५ जना होम आइसोलेसनमा बसेका छन् ।

बिहीबार बिहान मृत्यु भएकी सैनामैना ११ की ७७ बर्षीय महिलामा कोरोना संक्रमण देखिएपछि बुधवार श्राद्धमा सहभागि २५ जना होम आइसोलेसनमा बसेका हुन् । ७७ बर्षीय महिलाको उपचारका क्रममा बिहीवार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा बेड तथा भेन्टिलेटर खाली नभएपछि उनलाई प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो । उनका छोराको दुध डेरी रहेको र डेरीमा दुध लिन आउनेहरु समेत होम आइसोलेुसनमा बसेका सैनामैना वडा नं ११ का वडा अध्यक्ष सुनिल मरासिनीले बताए ।

घटना के हो ?

बुधवारको कुरा हो । घरमा श्राद्ध थियो । आफन्तहरु जम्मा भएका थिए । श्राद्धमा छरछिमेकीहरु समेत सामेल थिए । श्राद्ध सकिए पछि ७७ बर्षीय घर की मुली मान्छेसँग टिका आशिर्वाद लिने काम पनि भयो । उनलाई चारपाँच दिनदेखि खासै सन्चो थिएन् । श्राद्ध सेकेर उनलाई स्थानीय मेडिकलमा लगियो र मेडिकल कै सल्लाहमा उनलाई बुधवार साँझ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो । उनमा ज्वरो र कडा खालको निमोनिया देखिएकोले दु्रतविधीबाट पिसीआर गर्दा कोरोना संक्रमण पोजेटिभ देखियो । परिवारले भने सामान्य ज्वरो होला ठानेर घरमै उपचार गराइरहेका थिए ।

टोल नै सिल

मृतक महिलामा कोरोना पोजेटिभ देखिए पछि टोललाई नै सिल गरिएको छ । घरबाहिर निस्कनमा रोक लगाइएको वडा अध्यक्ष मरासिनीले बताए । सामान्य ज्वरो भनेर प्रत्यक्ष सम्पर्कमा आएकाहरु होम आइसोलेसनमा बसेको उनले बताए । ‘उहाँको सम्पर्कमा गएका र उहाँको परिवारको सम्पर्कमा गएकाहरु गरी २५ जना होम आइसोलेसनमा हुनुहुन्छ,’ उनले भने, ‘केहीदिन मै २५ जनाकै पीसीआर परीक्षण गरिने र रिपोर्टअनुसार थप परीक्षण गर्नुपर्ने वा नपर्ने टुंगो लगाएर थप निर्णय लिइनेछ ।’ (https://www.healthaawaj.com)