सरकारी गाडी स्टार्ट गरेर टिकटक बनाउन चालक बाहिर निस्केपछि…

अहिले टिकटकमा चालक बिना गुडाइएको एउटा सरकारी गाडिको भिडियो भाइरल भएको छ।

चालकले नै टिकटक बनाउनका लागि स्टार्ट गरेर बाहिर निस्किएको देखिन्छ। यो भिडियो टिकटिकबाटै सार्वजनिक भएको थियो। त्यसपछि अहिले फेसबुकमा पनि यो भिडियो भाइरल भएको छ।

००१ झ ००९१ नम्बरको उक्त सरकारी गाडि चालकले स्टार्ट गरेर बाहिर निस्किएका छन्। खाली गाडीलाई ती चालकले चालु अवस्थामै राखेर बाटोमा गुड्न दिन्छन्। केही परसम्म गाडी आफैं गुड्छ। त्यसबीचमा ती चालक गाडीको अगाडि बोनमा चढ्छन्। गाडी सडकको डिलतिर गईसकेपछि उनी भित्र पस्छन् र आफ्नो सिटमा बसेर नियन्त्रणमा लिन्छन्।

गाडीभित्र मानिसहरू भने थिएनन्। भएक दुईजनामध्ये भिडियो बनाउन बाहिर निस्किएका छन्।

जोखिमपूर्ण कच्ची बाटोमा चालक विना गुडाइएको उक्त गाडी कालिकोटको शुभकालिका गाउँपालिकाको हो। भिडियोमा देखिएको युवा सोही गाडीका चालक उमेश धिताल हुन्।

यो भिडियो सार्वजनिक भएपछि गाउँपालिकाले भने चालकलाई सम्झाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हस्त बहादुर शाहीले आफूले चालकलाई बोलाएर सामान्य रूपमा सम्झाएको बताए।

‘यो भिडियो मैँले हेरेपछि ड्राईभरलाई बोलाएर सम्झाएको छु,’ उनले भने, ‘अब आईन्दा यस्तो गर्दिन भन्ने कुरा गर्नुभयो।’

गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले चालकसँग भेट गर्न बोलाईएको बताए।

‘उनलाई मैले भेट् बोलाएको छु, सोधपुछ गर्छु के रहेछ,’ अध्यक्ष चौलागाईंले भने, ‘भर्खर यो कुरा थाह भयो, अब उसको गल्ती अनुसार कारबाही पनि के गर्न सकिन्छ, गर्छौं।’ (सेतोपाटी)