संकटकालसँगै श्रीलंकामा चुलियो संकट, प्रधानमन्त्रीले राजीनामा दिने


श्रीलंकामा पुनः संकटकाल लगाइएपछि शक्तिराष्ट्रले राष्ट्रपति गोटबाय राजपाक्षको आलोचना गरेका छन्। अमेरिका र युरोपेली संघले सरकारविरुद्ध भइरहेको प्रदर्शनमाझ दोस्रोपटक संकटकाल लगाउने राष्ट्रपतिको कदमको आलोचना गरेका हुन्।

राजधानी कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले जनताको आवाज सरकारले सुन्नुपर्ने प्रतिक्रिया दिए। उनले श्रीलंकालीले बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुध्न र देशलाई सही बाटोमा फर्काउन दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्। यस्तै युरोपेली संघले संकटकालले समस्या समाधान नहुने भन्दै त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ।

यसैबीच श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामाको तयारी गरेको जनाइएको छ। देशभर आर्थिक तथा राजनीतिक संकट गहिरिएपछि राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनीनिकट स्रोतले जनाएको छ।

आर्थिक र राजनीतिक संकट गहिरिएपछि शुक्रबार रातिदेखि श्रीलंकामा पुनः संकटकाल लगाइएको हो। विदेशी मुद्रा सञ्चितमा गम्भीर संकट बेहोरिरहेको श्रीलंकाले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ।