डा. केसीकाे अनसन स्थगित

सुर्खेत – बिहीबारदेखि अनसन सुरु गर्ने घोषणा गरेका डा. गोविन्द केसीले अन्ततः  स्थगित गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले केही समयका लागि अनसन स्थगित गरेको जनाएका छन् ।

‘कोरोनाको महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै अनसन कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्नेलगायतका विभिन्न माग राखेर डा. केसीले बिहीबारदेखि अनसन बस्ने घोषणा गरेका थिए । ‘सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सनसन सुरु गर्ने जानकारी गराउँछौं’ उनले भनेका छन् ।

डा. केसीले महामारीका बेलामा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिन सरकारलाई आग्रह गरेका छन् ।

गत साउन ११ गते जुम्लामा पत्रकार सम्मेलन गरेर ३ बुँदे माग सार्वजनिक गरेका डा. केसीले तीन सातासम्म सरकारले ती माग पूरा नगरे जुम्लामै अनसन बस्ने बताएका थिए । त्यस्तै साउन ३२ गते पुनः पत्रकार सम्मेलन गर्दै भदौ ११ गते अनसनको समय सारिएको थियो ।

भदौ ११ गते स्थानीय प्रशासनको अनुरोध भन्दै एक साताको लागि सारेका थिए । डा. केसीले बिहीबार पुनः केही समयका लागि स्थगन गरिएको बताएका हुन् ।