काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ । सत्ता गठबन्धनबीच नेकपा (एकीकृत समाजवादी)लाई भागबन्डा नमिल्दा कांग्रेस र माओवादीबीच मात्र तालमेल भएको हो ।
मनोनयनपत्र दर्ता गर्ने बेलासम्म कुनै पनि सहमति नहुँदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका थिए । पछि कांग्रेस र माओवादीबीच तालमेलको सहमति भयो । कांग्रेसकी रामकुमारी थापा र माओवादीका राजेन्द्रदेव गिरीले मनोनयन फिर्ता लिए । कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुखको भागबन्डा गरियो ।
नगरपालिकाको प्रमुख पदका लागि कांग्रेस–माओवादीका तर्फबाट उमेदवार रहेका कांग्रेस नगर कमिटी अध्यक्ष उपेन्द्रबहादुर खड्का, नेकपा (एमाले)का मोहनमाया भण्डारी र एकीकृत समाजवादीका धनकुमारी जिसीबीच प्रतिस्पर्धा हुँदै छ । भण्डारी एमाले केन्द्रीय सदस्य हुन् । उनी ०७४ मा उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
यहाँ उप्रमुखका लागि कांग्रेस–माओवादीका तर्फबाट माओवादीकी शान्ति ढकाल, एमालेबाट नीलकण्ठ खनाल र एकीकृत समाजवादीबाट वीरबहादुर रावतबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रमुखका लागि स्वतन्त्रबाट दुईजना भीमप्रसाद शर्मा र उमानन्द पंगाली पनि चुनावी प्रतिस्पर्धामा छन् । उप्रमुखका लागि पनि स्वतन्त्रबाट अनिल ढकाल र भोजप्रसाद चपाईं प्रतिस्पर्धामा छन् ।
कांग्रेसका सुर्खेत जिल्ला सभापति खड्ग पोखरेलले एकीकृत समाजवादीले प्रमुख र उपप्रमुख पद छोड्न नमान्दा गठबन्धन टुटेको बताए । कर्णाली प्रदेशमा ७९ स्थानीय तह छन् । कर्णालीको राजधानी वीरेन्द्रनगरमा अरू पालिकाभन्दा विशेष चासो र चर्चा छ ।
०७४ सालको मत परिणामलाई फर्केर हेर्दा नगरपालिकाका मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हुन् । वीरेन्द्रनगरका कुल १६ वडामा गरी ६७ हजार मतदाता छन् ।
अघिल्लो निर्वाचनमा तेस्रो हैसियतमा रहेको माओवादी केन्द्रसँग कांग्रेसले तालमेल गर्दा एमालेलाई थप कठिन हुने अनुमान छ । जिल्ला सभापति पोखरेल भन्छन्, ‘‘दुईदलीय गठबन्धन भएको छ । यसले गर्दा अन्य दलभन्दा माओवादी–कांग्रेसको बलियो जनमत रहेको त्यसै अनुमान गर्न सकिन्छ । सोहीअनुसार चुनावी घरदैलो अभियान अघि बढेको छ ।”
उनका अनुसार सुर्खेतको लेकबेसी नगरपालिकामा भने सत्ता गठबन्धनबीच नै चुनावी तालमेल भएको छ । जिल्लाका अरू नगरपालिका र गाउँपालिकामा अवस्था हेरेर तालमेल गरिएको उनले बताए
०७४ को निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखसहित कांग्रेसले ६ वडाध्यक्ष पद जित्दा उपप्रमुखमा एमाले विजयी भएको थियो । नौवटा वडा एमालेले जित्दा एउटा माओवादीले जितेको थियो । – 12khari.com