जुम्ला – नेकपा एमालेबाट चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गरेका छन्। रोकायाले घोषणापत्रमा नगरपालिकामा कक्षा १ देखि १२सम्म अनिवार्य र निःशुल्क शिक्षा लागु गर्ने उल्लेख गरेका छन्।
यस्तै न्यून आय भएका बालबालिकाका लागि शैक्षिक राहत कोष स्थापना गर्ने घोषणा गरिएको छ। यस्तै १२ कक्षा सकेका विद्यार्थीका लागि डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि नगरपालिकाले नै व्यवस्था गर्ने बताइएको छ। तरसुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ।
जुम्लाको बस्ती विकासका लागि पाखे चक्रपथको अवधारणा सारिनेछ। स्थानीय स्तरमा जैविक ग्यास, वैकल्पिक उर्जाको अभ्यासमार्फत अनुदान गरिने, एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरबन्दी सहितको व्यवस्था गर्ने बताइएको छ।
त्यस्तै चन्दननाथ मन्दिरलाई आकर्षक पर्यटकीय गन्तब्य बनाउने घोषणापत्रमा उल्लेख छ। चन्दननाथ मन्दिर जुम्लाको ऐतिहासिक धार्मिक स्थल हो। कृषिमा हरेक वडामा ठूलो शीत भण्डार स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। स्याउ, ओखर, लगायत कृषिमा आधारित उत्पादनशील व्यवसाय गरिने क्षेत्रमा सिँचाइलाई प्रथामिकता दिने बताइएको छ।
त्यस्तै तातोपानी गाउँपालिकामा एमाले अध्यक्षका उम्मेदवार सुरतबहादुर शाहीले समेत घोषणापत्र सार्वजनिक गरेका छन्। तातोपानीका सवै गाउँमा सडक विस्तार गर्ने, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिने, जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने र जातीय लैगिक तथा विभेदमुक्त पालिका घोषणा गर्ने उल्लेख छ।
त्यस्तै तातोपानीमा एमालेको घोषणापत्रमा एक गाउँ एक उत्पादन र १० उद्यमी निर्माण गर्ने उल्लेख छ। वडा स्तरमा क्रमशः एक घर–एक धारा पानी, शहीद स्मारक स्थापना, जुम्ला– जाजरकोट जोड्ने त्रिवेणी टोप्ला हुँदै जाजरकोटको सडक विस्तार गर्ने उल्लेख छ।