लिभरपुलले भिल्ला रियललाई हरायो


काठमाडौं – च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले भिल्ला रियललाई २–० ले पराजित गरेको हो।

लिभरपुललाई विजयी गराउन सादियो मानेले एक गोल गर्दा भिल्ला रियलबाट एक उपहार गोल पाएको थियो। भिल्लाका पर्भिस इस्तुपिनानले एक आत्मघाती गोल गरे। खेलको ५३ औं मिनेटमा डिफेन्डर इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनायो। त्यसपछि खेलको ५५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।

जितसँगै लिभरपुलले फाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ। सेमिफाइनल दोस्रो लेगको खेल आगामी मंगलबार स्पेनिस क्लब भिल्ला रियलको मैदानमा हुनेछ। उक्त खेलपछिको विजेताले फाइनलमा उपाधिका लागि म्यानचेस्टर सिटी र रियल मड्रिडमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।