तोरेत्स्क । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले नयाँ आक्रमणको प्रतिकार गर्न किभलाई आवश्यक हातहतियार दिन कुनै कसर बाँकी नराखिने अभिव्यक्ति दिएलगत्तै मंगलवार रुसी फौजले पूर्वी युक्रेनमा भयानक आक्रमण गरेको छ । मस्कोले अमेरिकाको यस्तो व्यवहारको कारण युक्रेन युद्ध लम्बिने चेतावनी दिएको थियो ।
रुससँगको दुई महिना लामो भिषण युद्धको दौरान युक्रेनलाई पश्चिमी हातहतियारले निकै सघाइसकेको छ । तर, युक्रेनी नेताहरुले तत्काल थप हातहतियारको माग गरिरहेका छन् ।
जर्मनीस्थिती संयुक्त राज्य अमेरिकाको ¥यामस्टेन हवाई अखडामा थप हतियारको आह्वानका लागि बसेको करिब ४० देशका अधिकारीहरु सम्मिलित बैठकलाई सम्बोधन गर्ने क्रममा अस्टिनले युक्रेनका लागि थप सहयोग आउँदै गरेको बताएका थिए ।
जर्मनीले युक्रेनलाई विमान भेदक बन्दुक दिने घोषणा गरिसकेको छ ।
सम्बोधनको सुरुमै अस्टिनले भनेका थिए, “यस बैठकले शक्तिशाली विश्वलाई प्रतिविम्वित गरेको छ । हामीले कुनै पनि हालतमा युक्रेनको हतियारको माग पूर्ति गर्न लागेकाले म यहाँ उपस्थित अधिकारीहरुलाई युक्रेनको सुरक्षा आवश्यकताबारे साझा र पारदर्शी समझदारी व्यक्त गरेर मात्रै बैठकबाट जान आग्रह गर्दछु ।”
युद्धको सुरुआतमा युक्रेनी फौजको कडा प्रतिकारका कारण रुसको राजधानी किभ कब्जा गर्ने प्रयास असफल भएको थियो । अहिले मस्कोले आक्रमण पूर्वी युक्रेनको औद्योगिक क्षेत्र तथा अधिकांश रुसी भाषी बस्ने दोन्वासमा केन्द्रित गरेको छ । यो क्षेत्रमा सन् २०१४ देखि नै रुस समर्थित पृथकतावादी लडाकुहरु सक्रिय छन् ।
रुसी फौजको आक्रमणका कारण हजारौं सर्वसाधारणको ज्यान जानुका साथै लाखौं व्यक्ति पलायन भइसकेका छन् । यसकै कारण विश्वभर खाद्यान्न र तेलको भाउ निकै वृद्धि भइरहेको छ । शितयुद्ध उत्तरार्धको युरोपको सुरक्षा सन्तुलन भताभुङ् भएको छ । दोन्वासको सानो सहर तोरेत्स्कमा मानिस वर्षाको पानी संकलन गरी बाँच्न सघर्ष गरिरहेका छन् ।
वेलायती रक्षा मन्त्रालयका अनुसार दोन्वासको क्रेमिन्ना सहर रुसी फौजको हातमा गएको छ । मारीउपोल सहरको एजोभ्स्टल स्टिल कारखानामा २४ घन्टाभित्र मात्र रुसी फौजले ३५ पटकभन्दा बढी हवाई हमला गरिसकेको छ । रुसी फौजले दोन्वास नजिकको खार्किभ सहरमा पनि आक्रमण गरेको छ ।
यता, रुसी विदेशमन्त्री सर्गे लाभरोभले तेस्रो विश्व निम्त्याउने खालले निहुँ नखोज्न र आणविक हतियार प्रयोग हुनसक्ने स्थितीलाई कम नआक्न चेतावनी दिएका छन् । एपी