कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये ८४ प्रतिशत पुरुष

सुर्खेत—पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको वृद्धिदर बढ्दै गएको छ । बुधबार मात्र कर्णालीमा ९५ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णालीमा महिलाको तुलनामा पुरुष बढी संक्रमित भएको तथ्यांक रहेको छ । यो प्रदेशमा कोरोना संक्रमण पुरुषको तुलनामा महिलामा कम देखिएको हो । संक्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेका छन्। कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमित हुनेमा पुरुष नै बढी देखिएका हुन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये १६ प्रतिशत महिला र ८४ प्रतिशत पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

बुधबारसम्ममा कर्णालीमा २ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर, प्रदेशका कुनै पनि कोभिड–१९ का बिरामीलाई लक्षण भने देखिएको छैन । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीका अनुसार २१ देखि ३० र ३१ देखि ४० उमेर समुहको ब्यक्तिहरुलाई सबै भन्दा बढि असर देखिएको छ। प्रतिसतका आधारमा कुल कोरोना संक्रमितमध्ये सबै भन्दा धेरै ४२ प्रतिशत २१ देखि ३० वर्षकाे उमेर समुह रहेकाे छ ।

यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका २३ प्रतिशत संक्रमित भएको स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकमा उल्लेख छ । ११ देखि २० वर्ष उमेर समूहका १५ प्रतिशत रहेका छन् भने ४१ देखि ५० वर्ष उमेर समुहका ९ प्रतिशत संक्रमित रहेका छन् । ५१ देखि ६० वर्ष उमेर समूहका ५ प्रतिशत, ० देखि १० वर्ष उमेर समूहका ४ प्रतिशत रहेका छन् । यसका साथै सबैभन्दा कम ६० बर्ष माथिकाे उमेर समुहका २ प्रतिशत कोरोना संक्रमित भएको निर्देशक भण्डारीले जानकारी दिइन् ।

निर्देशक भण्डारीका अनुसार कोभिड—१९ का कारण मानिसहरूमा रोग लाग्नबाट सुरक्षित हुने उपायको सचेतनामा वृद्धि भएको छ । नागरिकमा हात धुने बानीको विकास हुनुका साथै सामाजिक दूरीका कारण पनि रोगको प्रकोप तथा संक्रमणमा कमी आएको उनी बताउ छिन् । उनी भन्छिन्, ‘नागरिकमा हात धुने प्राक्टिसले झाडा पखाला, हैजा, जुका लगायतका रोगहरुमा कमी आएको छ।’

साथै प्रदेशस्तर तथा स्थानीय तहसम्म प्रयोगशाला परीक्षण विस्तार भएको छ । कोभिड—१९ का कारण अभिलेख तथा प्रतिवेदनमा वृद्धि भएको छ भने नागरिकस्तरमा सूचना संप्रेषण भएको उनको भनाइ छ ।