पञ्जाबसँग चेन्नई पराजित


काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ। मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको हो।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो।​ चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले। यस्तै रुतुराज गायकवाडले ३० रन जोडे। पन्जाबका कागिसो राबडा र ऋषि धवनले २–२ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो। पन्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले। भानुका राजपाक्षेले ४२ रन जोड्दा लियाम लिभिङस्टोनले १९ रन जोडे ।​

चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए। पन्जाबको यो चौंथो जित हो। छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ। नवौं स्थानको चेन्नईको यो छैटौं हार हो। चेन्नईले ८ खेलमा ४ अंक जोडेको छ ।