स्थानीय निर्वाचनमा १ लाख ३६ हजार २ सयभन्दा बढीको उम्मेदवारी


काठमाडौं – स्थानीय तह निर्वाचनका लागि १ लाख ३६ हजार २ सय ६९ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ लाख ३६ हजार बढीको आवेदन परेको हो। जसअनुसार महानगर पालिकाका प्रमुखमा ३ हजार २ सय ६१ जनाले आवेदन दिएका छन्। यस्तै ३ हजार २ सय ५४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

यस्तै उपप्रमुख पदमा २ हजार ३ जनाको आवेदन परेको छ। यस्तै उपाध्यक्ष पदका लागि २ हजार २ सय ९२ जनाको आवेदन परेको छ। वडाध्यक्षको लागि ३२ हजार ५९ जनाले आवेदन दिएका छन्।

यसै गरी महिला सदस्यमा २३ हजार ३ सय ७५ जनाको उम्मेदवारी परेको छ। दलित महिला सदस्यमा २१ हजार १ सय १५ र सदस्य पदका लागि ४८ हजार ९ सय १० जनाको आवेदन परेको छ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको नामावली प्रकाशन हुने छ।

यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ।

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यसूची आयोगले जनाएको छ।