पुलिसले जित्यो महिला गोल्डकपको उपाधि


काठमाडौं – प्रथम मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। धनगढी रंगशालामा शनिबार राति भएको फाइनलमा पुलिसले एपिएफ क्लबलाई १–० गोलले हरायो।

पुलिसको जितमा निर्मला विकले निर्णायक गोल गर्नुभयो। निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई उपाधि दिलाइन। उपाधिसँगै पुलिसले पाँच लाख रुपियाँ पुरस्कार पायो। उपविजेता एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

पुलिसकी निर्मला विक प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी हुनुभयो। उहाँले ५० हजार रुपियाँ पुरस्कार पाइन्। पुलिसकी पुजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक भइन्। एपिएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर बनिन्। उत्कृष्ट सबैलाई जनही १० हजार रुपियाँ प्रदान गरियो।

वनदेवी युवा क्लबले आयोजना गरेको प्रतियोगिताका विजेता टोली र खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दिर्घवहादुर सोडारी, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले पुरस्कार प्रदान गरे। वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीले भाग लिएका थिए।