नेपालमा थप १०७९ जनामा कोरोना पोजेटिभ 

काठमाडौं—नेपालमा थप १०७९ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । अहिलेसम्म विभिन्न प्रयोगशालाबाट हेल्थ आवाजलाई प्राप्त तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १०७९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ४१ हजार ६ सय ८ पुगेको छ । लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या तीब्र रूपमा बढ्दैं गएको छ । विशेषगरी सहरी इलाकाहरुमा संक्रमण उच्च बनेको छ ।

काठमाडौं उपत्यकामा मंगलबार मात्रै ४८१ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा रूपन्देहीको भीम अस्पतालमा १ जना, पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा २ जना, काठमाडाैंको त्रिवि शिक्षण अस्पतालमा २ जना , पाटन अस्पतालमा १ जना र लुम्बिनी कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । (हेल्थ आवाज)