स्वीडेनमा प्रदर्शनकारीमाथि रबरका गोली प्रहार, केही प्रहरी नियन्त्रणमा

काठमाडौं – स्वीडेनमा मुस्लिम धर्मावलम्बीको धर्मग्रन्थ कुरान जलाएको विषयमा भड्किएको हिंसा नियन्त्रण बाहिर गएको छ ।

४ दिन यता भइरहेको हिंसा नियन्त्रण बाहिर गएको हो । स्वीडेनको पूर्वी सहर नोर्कोपिङमास्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गर्दा तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले आक्रमणको धम्कीपछि चेतावनी स्वरूप गोली चलाएको त्यहाँका संचार माध्यमले जनाएका छन ।

प्रहरी कारबाहीमा उत्रनु अघि प्रदर्शनकारीहरुले थुप्रै सवारी साधनमा आगजनी गर्नुका साथै तोडफोड समेत गरेका थिए । सोही क्रममा १७ जनालाई पक्राउ परेका छन् । गत शनिबार स्वीडेनको दक्षिणी सहर माल्मोमा दक्षिणपन्थीले निकालेको र्यालीका क्रममा हिंसा भड्किएपछि कयौं दर्जनौं सवारी साधनमा आगजनी गरिएको थियो ।

एक उग्र दक्षिणपन्थी तथा आप्रवासी विरोधी समूहले कुरान जलाउने कार्यमा संलग्न डेनिस–स्वीडिश उग्रवादी समूहले धर्मग्रन्थ पुनः जलाउने बताएपछि हिंसा भड्केको हो ।

स्वीडेनका दक्षिणपन्थीले देशमा बढ्दो मुस्लिम जनसंख्यालाई आतंकित बनाउन कुरान जलाउने गरेका छन् ।