खाली ठाउँ भूमाफियाहरूले जथाभावी हडपिरहेका छन् : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले काठमाडौंका ठाउँठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीु लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंमा खाली ठाउँ नै नहुने गरी जग्गा हडपिएको बताएका हुन् ।

भूमाफियाहरूले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । कसरी गरेका छन् पनि थाहा छैन । भोलि काठमाडौंमा खाली ठाउँ नै हुने छैन । यसमा पनि ध्यान दिनुपर्छ, प्रधानमन्त्री देउवाले भने,  खाली ठाउँ सबै आफ्नो नाममा गरेका छन् । यसमा पनि सहरी मन्त्रालय, गृह मन्त्रालयले सबै मिलेर काठमाडौंका खाली ठाउँहरूलाई जोगाउन ध्यान दिनुपर्छ ।

त्यस्तै फरक प्रसंगमा उनले निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरे।