पल शाहको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालत पोखराको आदेश

काठमाडौं – उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।

मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीमार्फत न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको थियो ।

उच्च अदालत पोखराले थुनछेक बहस प्रयोजनका लागि अभियुक्तलाई थुनामै पठाउनुपर्ने कारण, त्यसका आधार र त्यस सम्बन्धमा रहेका कागजातहरूको प्रमाणित प्रतिलिपि सहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन् ।

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यका अनुसार तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिनेछ । उक्त सुनुवाइमा सरकारी वकिलले प्रतिरक्षा गर्नेछन् भने शाहका कानुन व्यवसायीले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै बहस गर्नेछन् ।

‘तत्काल प्राप्त प्रमाणबाट शाहले जबरजस्ती करणी गरेको देखिएको’ भन्दै तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतको उक्त आदेशविरुद्ध शाहको तर्फबाट मंगलबार उच्च अदालत पोखरामा पुनरावेदनको निवेदन दर्ता गरिएको थियो । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै शाहले उच्च अदालतमा निवेदन दिएका थिए ।

शाहले थुनामुक्त हुनका लागि दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई बेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएका थिए । ढुङ्गानाले आफ्नो थुनछेक आदेशमै ‘१५ वर्षीय बालिकालाई ललाई फकाई विवाह गर्छु भनी जबरजस्ती करणी गरेको देखिन आएकाले’ भन्ने वाक्यांशको प्रयोग गर्दै पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ६७ बमोजिम शाहलाई तत्काल पुर्पक्षका लागि थुनामा पठाउने ओदश गरेका थिए ।

एक नाबालिग गायिकालाई विवाह गर्छु भनी ललाईफकाई प्रेममा पारी जबरजस्ती करणी गरेको अभियोगमा बालिकाकै बुवाको जाहेरीका आधारमा गत फागुन ११ गते तनहुँ प्रहरी र त्यसको केही दिनमा नवलपुर प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीपछि पक्राउ परेका शाहविरुद्ध तनहुँ जिल्ला अदालत र नवलपुरमा मुद्दा दायर भएको थियो ।

नवलपुरको गैंडाकोटमा भएको एक गीतको म्युजिक भिडियो सुटिङका क्रममा शाहले पहिलोपटक जबरजस्ती करणी गरेको र त्यसपछि पनि विभिन्न मितिमा विभिन्न स्थानमा करणी गरेको जाहेरीमा उल्लेख छ ।