वडा नं.५ लाई नगरपालिकाकै पहिलो पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिदै

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका वडा न ५ लाई नगरपालिकाकै पहिलो पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्न लागिएको छ । पूर्ण सरसफाइयुक्त वडा बनाउने हामी सबैको रहर सफा र स्वच्छ हाम्रो घर भन्ने नाराका साथ यहि चैत १९ गते पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिने भएको हो ।

नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहरमैलाको उचित व्यवस्थापनलगायतका मापदण्ड पूरा भएपछि उक्त वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गर्न लागिएको वडाध्यक्ष राजबहादुर गुरुङले जानकारी दिए । पूर्ण सरसफाइयुक्त वडा बनाउन २०७६ साल देखि लागिएको थियो । कोभिडको कारण समयमै अभियान पुरा गर्न नसकिएको उनको भनाई छ ।
स्वास्थ्य र सरसफाइमा नागरिक पूर्ण सचेत बन्नुपर्नेमा वडाकार्यालयले जोड दिएको छ । जसका लागि चर्पिको प्रयोग नगरेका ९१ घर धुरीलाई चर्पिको समेत व्यवस्थापन गरिदिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनले घोषणा गर्नु मात्रै ठूलो कुरा नभएकाले यसलाई निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

१४ सय घरधुरी र ६ हजार सात सय जनसख्या रहेको वडाका हरेक घरधुरीले पूर्ण सरसफाइका सबै सूचक पूर्ण कार्यान्वयन गर्ने बताइएको छ ।