बीरगञ्जमा उपचार गराइरहेका थप तीन सङ्क्रमितको मृत्यु

वीरगञ्ज – पर्सामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना , गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना र नारयणी अस्पतालमा उपचारत एक जना गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसियुमा सात दिनदेखि उपचाररत बाराको कोल्हभीका ६० वर्षीय पुरुषको बिहान ४ बजेर ५० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए। मधुमेहका रोगी रहेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते गण्डक अस्थायी कोभिड अस्पतालमा ल्याएर भर्ना गरि उपचार गरिदै आएको थियो ।

त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मङगलबार बिहान १ बजे वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । उनी साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि १८ दिनदेखि कोभिड अस्पतालको आइसियुमा उपचाररत थिए।

यस्तैगरी भदौ १३ गते सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजे नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा पनि मृत्यु भएको छ। मृत्युपछि स्वाब संकलन गरि जीन एक्सपर्ट बिधिबाट पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
यसअघि सोमबार दिउँसो ३ बजेर २० मिनट जाँदा बीरगञ्ज हेल्थकेयर अस्पतालमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरीका ८० वर्षिय पुरूष संक्रमितको मृत्यु भएको थियो । भदौ १३ गते स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना भएका ति वृद्धको स्वाब संकलन गरेर परिक्षण गर्दा कोरोना पुष्टि भएपछि बीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो । कुनै ट्राभल्स हिस्ट्री नभएका ती पुरूषलाई लिभर , मधुमेह र निमोनियाको समस्या रहेको नारायणी अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. चौरसियाले बताए ।
अहिलेसम्म वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । जसमा साउन महिना यता मात्रै मृत्यु हुनेको संख्या ५० पुगेको छ । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५४ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४० जना , बाराका १० जना र रौतहटका ४ जना रहेका छन् । (गोरखापत्र)