राप्रपाले चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने


काठमाडौं – राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन्। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ। देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरु सह संयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन्।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरु समितिमा रहेका छन्।

सभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उपाध्यक्षहरु ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ।

पछिल्लो एक महिनामा लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ, उनले फागुनबाट शुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन्।

लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौं र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन्।