अमेरिकाले युक्रेनलाई आवश्यक सबै सहयोग जारी राख्ने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनमा हतियार, खाद्यान्न र पैसाको आपूर्ति जारी राख्ने बताएक हुन्।
राष्ट्रपति बाइडेनले ट्विट गर्दै युक्रेनबाट विस्थापित नागरिकलाई स्वागत गर्न आफूहरू खुला रहेको पनि उल्लेख गरेका छन्। उनले दैनिक दशौं हजार टन मानवीय सहायता उपलब्ध गराइरहेको पनि उल्लेख गरेका छन्।
बाइडेनले गत शुक्रबार युक्रेनका लागि छुट्याइएको १३ अर्ब ६० करोड डलर सहायता सम्बन्धी आपतकालीन खर्च प्याकेजमा हस्ताक्षर गरेका थिए। जसमध्ये लगभग आधा रकम सैन्य सहायताका लागि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यसैबीच युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले क्यानडाका समकक्षी मेलानी जोलीसँग टेलिफोनमा कुराकानी गर्दै रूसी आक्रमण रोक्ने उपायबारे छलफल गरेका छन्। छलफलबाट रूसमाथि प्रतिबन्धनको दबाब बढ्ने निश्कर्ष निकालिएको कुलेबाले बताएका छन्।
उनका अनुसार कुराकानीका क्रममा क्यानडाले युक्रेनलाई सबै मोर्चामा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।