काठमाडौं – सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर गरेको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको हो। आइतबारको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको हो। अब यो मुद्दाको अन्तिम किनारा पूर्ण इजलासले लगाउनेछ। पूर्ण इजलासमा तीन सदस्य रहनेछन्।
ओलीले नेपालसहितका १४ सांसदलाई सांसद तथा पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको जानकारी संसद्लाई दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना टाँस नगरेको भन्दै सभामुखविरुद्ध मुद्दा दायर गरेका थिए।
नेपालले पार्टी विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण गरिसकेको भन्दै पार्टी विभाजनपछि आएको कारबाहीलाई मान्यता दिन नसक्ने सभामुखले बताएका थिए।
आफूले कारबाही गरेका १४ सांसदलाई फरक पार्टीमा सांसदको मान्यता दिएको, कारबाहीपछि नै निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टी दर्ता गरेको लगायतका विषयलाई लिएर ओली सर्वोच्च अदालतमा पुगेका थिए।
ओलीको यो मुद्दासँगै लुम्बिनी प्रदेश सभाका दुई सांसदलाई कारबाही गरिएको पत्र कार्यान्वयनमा नगएको लगायतका मुद्दा पनि लगाउमा राखी सुनुवाइ भइरहेको थियो।
ओलीको रिट आइतबार १२ औं पटक पेसीमा चढेको थियो। यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाउ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो।
त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो भने फागुन १ गतेको पेसी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो। सोही विषयलाई लिएर एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ।