सिन्धुपाल्चोक – गत असार १ गतेको बाढी र पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ ।
चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको कुँवरले जानकारी दिए ।
गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी थालिएको उनले बताए ।
मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ ।
गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।
मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंकले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए । सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताए ।
ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए । रासस