बायर्न र लिभरपुल क्वाटरफाइनलमा, इन्टर मिलान र साल्जबर्ग बाहिरिए

काठमाडौं – जर्मन फुटबल क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको खेलमा अष्ट्रियाको साल्जवर्गलाई हराउँदै बायर्न म्युनिखले क्वाटरफाइनलमा स्थान पक्का पारेको हो ।

आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा बायर्न ७–१ ले विजयी भयो । बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलरले दुई तथा सर्जी नाब्रि र लेरोए सानेले एक एक गोल गरे । साल्जवर्गका कायरगार्डले एक गोल फर्काए ।

पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बायर्नले समग्रमा खेल ८–२ ले आफ्नो पक्षमा पारेको हो ।

मंगलबार राति नै भएको राउण्ड अफ सिक्सटिनको अर्को खेलमा इंग्लिस फुटबल क्लब लिभरपुललाई इटालीको इन्टर मिलानले १–० ले हराएको छ । तर, पहिलो लेगमा २–० को जित हात पारेको लिभरपुल समग्रमा २–१ को परिणामसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिगमा आज राति पनि दुई खेल हुने छन् । आज म्यान्चेस्टर सिटी र स्पोर्टी– लिस्बन भिड्दा रियाल मड्रिडले पिएसजीको सामना गर्नेछ । पहिलो लेगमा म्यान सिटीले लिस्बनमाथि ५–० को अग्रता लिएको छ भने पिएसजीसँग रियाल मड्रिड १–० ले पछि परेको छ ।