ब्राउन सुगर र पेस्तोल सहित बाँकेबाट ३ जना पक्राउ

काठमाडौं – बाँकेको खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट प्रहरीले अटोमेटिक पेस्तोल र ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षका रविन्द्र थापा उर्फ गल्छी, खजुरा गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिश थापा र नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका सुरेश रोका मगर छन् ।

ईलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले रविन्द्र थापाको घरमा सर्च गरेर ९० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद गरेको छ ।

आरोपीहरु खजुरा–१ स्थित बहादुरपुरमा रहेको रविन्द्र थापाको घरमा सँगै भेटिएका हुन् । बरामद पेस्तोलको म्याग्जिन फेला परेको छैन् । प्रहरीका अनुसार मनिश र सुरेश रविन्द्र थापासँग लागु औषधका कारोबार गर्न उनको घरमा पुगेका थिए । आरोपीहरु विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।