५५ प्रतिशत औषधि नेपालमै उत्पादन, प्रोत्साहन नीति नहुँदा समस्या


काठमाडौं – नेपाली औषधि बजारको ५५ प्रतिशत माग आपूर्ति स्वदेशमै उत्पादित औषधिबाट हुने गरेको‍ औषधि उत्पादकले जानकारी दिएका छन्।

औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष प्रज्वलजंग पाण्डेले शुक्रबार आयोजित कार्यक्रममा उक्त जानकारी दिँदै नेपालमा उत्पादित औषधि १२ वटा देशमा निर्यात हुने गरेको बताए।

उनका अनुसार हाल नेपालमा उत्पादन गरिरहेका ५ वटा कम्पनीका औषधि विदेश निर्यात गरिन्छ। नेपालका लागि आवश्यक धेरै औषधि भने भारतबाट आयात गरिने पनि उनले बताए।

नेपाली औषधि उत्पादक कम्पनीका चुनौती

नेपाली कम्पनीले विश्व स्वास्थ्य संगठनले मान्यता दिने गरी गुणस्तरीय औषधि उत्पादन गर्ने गरेको उनको भनाइ छ। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरणको अभावमा नेपाली औषधि कम्पनीले क्षमता हुँदा पनि धेरै औषधि उत्पादन गर्न नसकेको अध्यक्ष पाण्डेले स्वीकार गरे।

‘बजारमा कच्चा पदार्थको मूल्य बढेको बढ्यै छ, तर सोही अनुपातमा औषधिको मूल्य समायोजन हुन सकेको छैन। केही वर्ष अघिसम्म करिब १० प्रतिशतमात्र रहेको स्वदेशी उत्पादन अहिले बढेर झण्डै ५५ प्रतिशत पुगे पनि हामीले उही मूल्यमा औषधि बेच्नुपरेको छ‘‚ उनले भने।

सरकारले मूल्य समायोजन नगर्दा स्वदेशी उद्योगलाई उत्पादनमा समस्या भएको चर्चा गर्दै भविष्यमा पारासिटामोल, ओआरएस, जीवन जल, स्लाइनको अभाव हुनसक्ने उनले चिन्ता व्यक्त गरे।

सरकारले प्रोत्साहन गर्न सके नेपाली औषधि कम्पनीले नेपाली बजारमा चाहिने ८० प्रतिशतसम्म औषधि उत्पादन गर्न सक्ने समेत उनले बताए। ‘हामीले महँगोमा कच्चा पदार्थ ल्याउँछौँ र त्योभन्दा सस्तोमा औषधि बनाएर बेच्छौँ जसले गर्दा समयअनुकूल नियम कानुन नबन्दा हामीलाई समस्या परेको हो’‚ उनले भने।

सरकारले समयअनुसार औषधिको मूल्य बढाउने, कम्पनी सञ्चालनका लागि सहुलियतमा जग्गा दिन सके औषधि उत्पादक कम्पनीले सहज रूपमा उत्पादन गर्न सक्ने उनले बताए।

औषधि र प्रविधिबारे नयाँ जानकारीका लागि फर्मा एक्सपो

यस्तै पाण्डेले एपोनले हरेक दुई वर्षमा गर्दै आएको नेपाल फर्मा एक्सपो वैशाख ९ देखि ११ सम्म हुने समेत बताए। उनका अनुसार यसअघि फागुनमा हुने भनिएको उक्त एक्सपो कोरोना संक्रमणका कारण वैशाखमा सारिएको हो।

एक्सपोमा १६० स्टल राखिने र त्यसमा नेपालका र विदेशका औषधि उद्योग र त्यसमा प्रयोग भएका प्रविधिको प्रदर्शनी हुने उनले जानकारी दिए।

हाल नेपालमा १०४ वटा नेपाली औषधि कम्पनीले औषधि उत्पादन गर्दै आएका छन्। औषधि उद्योगले नेपालमा वार्षिक ६० अर्बको कारोबार गर्दै आएका छन्। – thahakhabar