युक्रेनबाट नेपाली विद्यार्थीको आग्रह – मर्ने बाँच्ने टुंगो भएन, उद्धार गरिदिनुस

काठमाडौं – युक्रेनको राजधानी किएभमा रुसले सैन्य कारबाही सुरु गरेको छ । शुक्रबार बिहान त्यहाँ गोलाबारी पनि भएको छ र अहिले मानिसहरुले राजधानी छाड्ने क्रम चलिरहेको छ ।

कतिपय नजिकैको मुलुकतर्फ प्रवेश गर्न खोजिरहेका छन् भने त्यहाँ रहेका विदेशी नागरिकलाई विभिन्न मुलुकले सुरक्षित स्थानतर्फ लैजान पहल गरिरहेका छन् । राजधानी किएभमा केही नेपाली नागरिक पनि छन्, उनीहरुले उद्धारका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।

किएभमा अध्ययनका लागि पुगेकी नेपाली विद्यार्थी निशा क्षेत्रीले शुक्रबार साँझ कुरा गर्दै ‘आफूहरुको मर्ने बाँच्ने टुंगो नभएको’ बताएकी छन् । र, उद्धार गर्नका लागि पहल लिन नेपाल सरकारसँग आग्रह गरेकी छन् ।

‘छिनछिनमा यहाँ विस्फोट भइरहेको छ, बच्नलाई हामी मेट्रो चढेर विभिन्न ठाउँको यात्रा गरिरहेका छौं’ उनले भनिन्, ‘यहाँबाट कहाँसम्म जाने हो, टुंगो छैन ।’ केही दिनलाई खानका लागि पहिल्यै तयार गरेर राखेको भए पनि परिस्थिति बिग्रिंदै जाँदा खानकै लागि पनि समस्या हुने उनले बताइन् । रुसले सैन्य कारबाही सुरु गरेको पहिलो दिन चाहिं उनले होस्टल नजिकै रहेको अस्पतालको भुइँतलामा बसेर बिताइन् ।