युक्रेनी नागरिक सुरक्षित स्थानतर्फ भाग्दै, ५० लाख नागरिक शरणार्थी हुन सक्ने

रुसी फौज मुलुकको प्रमुख क्षेत्रमा अघि बढ्न थालेपछि ठूलो संख्यामा युक्रेनी सुरक्षित स्थलतर्फ भाग्न थालेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार बिहीबार मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् । जसमध्ये अधिकांश आन्तरिक रूपमा विस्थापित भएका छन् । पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्रहरु स्थापना गरेको छ । यद्यपि मानिस सीमा कटिनसकेको बताइएको छ । कतिपय युक्रेनी रोमानिया र हङ्गेरी पुगेका छन् ।

अमेरिकाले रुसी आक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी संकट सिर्जना गर्ने चेतावनी दिएको छ । ब्रिटेनका अग्रणी मानव अधिकार सङ्गठनहरूको एउटा समूहले ठूलो संख्यामा शरणार्थीहरूलाई स्वागत गर्न अपील गरेको छ । यसैबीच रुसले दोस्रो दिन आक्रमण जारी राखिरहँदा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्नु भएको छ ।

उहाँले रुसलाई युद्धविरामका लागि आफूले अपील गरिरहेको बताउनुभयो । जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुने उहाँको भनाइ छ । उता अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युक्रेनमा मानवताविरुद्धको सम्भावित अपराधबारे आफूले अनुसन्धान गर्न सक्ने बताएका छन् ।

रुसी अतिक्रमणप्रति चिन्ता व्यक्त गर्दै प्रमुख अभियोजनकर्ता करिम खानले सबै पक्षबाट भइरहेको चासोबारे स्मरण गराएका हुन् । आईसीसीको क्षेत्राधिकार प्रयोग गरी नरसंहार, मानवताविरुद्धको अपराध अथवा युक्रेनभित्र भएका युद्ध अपराधबारे अनुसन्धान गर्न सकिने उनले बताए । रुसले सैन्य संरचनामाथि मात्रै नभई गैरसैनिक क्षेत्रमा पनि आक्रमण गरिरहेको युक्रेनी सेनाले जनाएको छ । तर रुसी रक्षा मन्त्रालयले गैरसैनिक क्षेत्रमा कुनै हमला नगरिएको दाबी गर्दै आएको छ ।