काठमाडौं – नेष्डो समृद्धि लघुवित्तले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो ।
जसको ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गर्दै बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।
कम्पनीको आईपीओमा छिटोमा फागुन १५ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मक लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्नसक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीको आईपीओमा धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार १० कित्ताका दरले बाँडफाँड गर्दा ७७ हजार ४५६ जनालाई पर्नेछ । यस्तै सोमध्ये ३ जनालाई थप एक कित्ता भाग लाग्नेछ ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
कम्पनीको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार १६ करोड ३३ लाख ८ हजार खुद मुनाफा आर्जन गरेको छ । आव २०७७/०७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा २५ करोड ३० लाख ३१ हजार, प्रतिसेयर आम्दानी ९४ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ३५२ रुपैयाँ २३ पैसा छ ।
आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण पछिको वित्तीय विवरणमा कम्पनीको सञ्चित मुनाफा १२ करोड ८१ लाख ९९ हजार, प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नटवर्थ २६० रुपैयाँ ८५ पैसा छ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस संस्थाको केन्द्रीय कार्यालय पवर्तको कुश्मा नगरपालिकामा रहेको छ । लघुवित्तले हाल ५६ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।