भारतीय व्यवसायीको हत्या : गाडी भारतको सीमामा, शव उदयपुरको जंगलमा

काठमाडौं-  गत माघ २६ गते बिआर ०१ बिसी ५६९७ नम्बरको भारतीय नम्बर प्लेटको कार वीरपुरस्थित एउटा स्कुलको कम्पाउन्डमा फेला परेको थियो।

कोसी ब्यारेजनजिकै भान्टाबारीबाट करिब पाँच किलोमिटरभित्र भारतीय प्रहरीले बेवारिसे कार फेला पारेको थियो।

हत्या आरोपमा पक्राउ परेका कमल विक।

नजिकै कारको चाबी पनि फालिएको थियो। कसैले कार पार्किङमा राखेर चाबीसमेत खुला ठाउँमा फाल्नु आफैंमा ‘रहस्यमय’ ठानेर भारतीय प्रहरीले खोजीमा तदारूकता देखायो।

बेवारिसे कारको बारेमा आफ्नो माथिल्लो निकायमा खबर गर्‍यो। भारतीय कारको नम्बर प्लेटबारे खोजी गर्दै जाँदा राजस्थान घर भएका ५० वर्षीय रामकिसन मिर्णा त्यसका धनी हुन् भन्ने पत्ता लाग्यो।

त्यसपछि भारतीय प्रहरीले उनका परिवारलाई सम्पर्क गर्‍यो। परिवारले मिर्णा नेपालमा रहेको र केही दिनदेखि नै सम्पर्कबाहिर रहेको बतायो।

यसपछि वीरपुरस्थित भारतीय प्रहरीले आफ्नो नजिकको नेपालको प्रहरी युनिट सुनसरी प्रहरीलाई खबर गरेको थियो।

प्रहरीका अनुसार मिर्णा मोरङको कानेपोखरी गाउँपालिका(६ स्थित डाँस खोलाको पुलमा काम गरिरहेका थिए। उनी पायलिङ मेसिन ल्याएर ठेक्कामा लगाउने काम गर्थे।

उनी तराईका केही ठाउँका पुल तथा भवनमा पायलिङ मेसिन ल्याउने काम गरिरहेका थिए। यसक्रममा कानेपोखरीको डाँस पुलको काम थालेपछि २८ वर्षीय कमल विकसँग भेटघाट भएको थियो।

उदयपुर कटारी(२ घर भएका कमल पुलहरूमा पायलिङ मेसिन र ठेकेदार ल्याउनको लागि समन्वयकर्ताको काम गर्थे।

उनै कमलको सघन सम्पर्कमा रहेर मिर्णाले डाँस खोलाको पुलमा काम गरेको डेढ महिना पुग्दै थियो।

मिर्णा हराइरहेको र खोजी हुँदा कमल भने पुलमा निर्धक्कसाथ काम गरिरहेका थिए। दिनहुँ नजिक रहेर काम गर्ने कमल मिर्णा हराइरहेको सूचनामा निष्फिक्री देखिन्थे।

इलाका प्रहरी कार्यालय पथरीले मिर्णाको खोजी गरिरहेको थियो तर उनी फेला पर्न सकेका थिएनन्। कमल भने शंकाको घेरामा थिए।

गत फागुन ६ गते कटारीमाथिको जंगलमा एउटा शव फेला परेको थियो। मिर्णा हराइरहेको र उनको हुलियासँग मिल्दोजुल्दो व्यक्तिको खोजीमा लागेको प्रहरीलाई त्यो बेवारिसे शव ‘क्लू’ बन्यो।

कमलले भारतमा लिएर छोडेको गाडी र मृतक मिर्णा।

कटारी प्रहरीले सुनसरी प्रहरी हुँदै इलाका प्रहरी कार्यालय पथरीसम्म कुरा पुर्‍यायो। त्यसबेलासम्म आफन्तहरू मिर्णालाई खोज्दै नेपाल आइसकेका थिए।

प्रहरीले अस्पतालमा राखिएको मिर्णाको शव आफन्तलाई देखाए। आफन्तले सनाखत गरेपछि बल्ल घटनाको अनुसन्धान अघि बढेको थियो।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक कृष्ण खड्का भन्छन्, ‘एकातिर मानिस हराइरहेको, अर्कोतिर उनलाई काममा ल्याउन भूमिका खेल्ने व्यक्ति भने निर्धक्कसाथ पुलमा काम गरिरहेको अवस्था थियो।’

खड्काका अनुसार त्यसपछि कमललाई प्रहरीले निगरानी गर्न थाल्यो। उनीहरूको टेलिफोन लोकेसन हेर्दै जाँदा कमल फन्दामा परिहाले। सोमबार कमललाई प्रहरीले पक्राउ गर्‍यो र सोधीखोजी गर्दा उनैले मिर्णाको हत्या गरेको तथ्य खुल्यो।

खड्काका अनुसार मृतक मिर्णा पाँच वर्षदेखि नेपालका विभिन्न स्थानमा निर्माणाधीन पुलमा पायलिङका लागि मेसिन ल्याउने काम गर्थे।

डेढ महिनाअगाडि डाँस खोलाको पुलमा पायलिङ मेसिन लिएर गएका थिए। त्यहीबेला कमलसँग उनको चिनजान भएको थियो।

पायलिङ मेसिनको ठेक्का लगाउने काम भने कमलले गर्थे। मिर्णाले वीरगञ्जको नारायणी अस्पताल र रौतहटस्थित बागमती नदीमा पनि पायलिङको काम लिएका थिए।

मेसिन पुर्‍याइएको थियो। अनुसन्धान अनुसार वीरगञ्जमा साइट हेर्न जाने भन्दै माघ २३ गते मा कमल र मिर्णा हिँडेका थिए।

पथरीबाट मिर्णा आफैंले गाडी हाँकेर वीरगञ्ज लगेका थिए। २४ माघमा वीरगञ्जस्थित नारायणी हस्पिटलमा चलिरहेको साइट हेरे। एक दिन त्यहीँ बसे।

भोलिपल्ट २५ माघमा पथरी फर्कने भनेर उनीहरू हिँडे। बाटोमा मदिरा सेवन गरेका थिए।

मदिरा सेवन गरेर मिर्चैया आएपछि उनीहरूबीच विवाद सुरू भएको थियो। कमलले कटारी घरतिर जाउँ भन्दै मिर्णालाई दबाब दिन थाले।

अपशब्द बोल्दै प्याट्टपुट्ट हिर्काउन थाले। झगडा उग्र हुँदै गएपछि कमलले मिर्णालाई मोबाइल चार्ज गर्ने तारले घाँटी कसेर हत्या गरेका थिए।

हत्या गरेपछि कमलले मिर्णाको शव कारको डिकीमा राखे। आफैं गाडी चलाएर उदयपुरको जङ्गलमा लगेर फालिदिए।

‘२६ गते रातिको घटना हो यो,’ खड्काले भने।

शव फालेपछि गाडी लिएर सुनसरीको भण्टाबारी नाका हुँदै उनी भारतको वीरपुरस्थित स्कुलको कम्पाउण्ड पुगे। गाडी त्यहीँ राखिदिए, बाटैमा चाबी फालिदिए।

मिर्णाको हत्यापछि कमल २७ गतेदेखि नियमित काममा फर्किएका थिए। यही बीचमा घटनामा संलग्न कमल पनि मिर्णा हराएको सूचना लिएर प्रहरीमा पुगेका थिए।

खड्काका अनुसार भन्सार शुल्क बुझाएर पायलिङ मेसिन ल्याउने क्रममा मिर्णा र कमलबीच लेनदेन भएको थियो।

‘मिर्णाले कमललाई ७० हजार रुपैयाँ दिन बाँकी रहेछ,’ कमलको बयान उद्धृत गर्दै खड्काले भने, ‘त्यो पैसा चुक्ता गर्ने सम्बन्धमा विवाद हुने गरेको रहेछ।’

त्यसदिन पनि मिर्चैया आएपछि कमल र मिर्णाबीच वादविवाद हुँदा पैसाको कुरा निस्केको थियो।

‘विवादको क्रममा पैसा फिर्ता माग्दा नदिएपछि आवेशमा हत्या गरेको देखिन्छ,’ खड्काले भने, ‘आवेशमा हत्या गरेर शव जंगलमा फाल्दै आफूतिर शंका नलागोस् भनी उनले गाडी भारत लगेर छोडेको र भान्टाबारी फर्केर गाडी चढेर पथरीसम्म आइपुगेको अनुसन्धानबाट खुलेको छ।’

मिर्णाको हत्या स्वीकार गरेपछि कमललाई शव फेला परेको स्थान उदयपुर कटारीकै प्रहरीमा पठाइएको छ। इलाका प्रहरी कार्यालय कटारीले कमलविरूद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको छ।

यसबीचमा पोष्टमार्टम रिपोर्ट पनि प्रहरीले हेरेको थियो। जसको प्रारम्भिक रिपोर्टमा मिर्णाको मृत्यु जबरजस्ती श्वासप्रश्वास प्रक्रिया रोकेको कारण भएको देखिएको छ। सेताेपाटी