काठमाडौं – ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ ।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको जानकारी दिए ।
‘प्रहरी प्रशासनको अत्यन्त दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको छ,’ उनले भने ।
ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।
बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।
पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति चोरी भएको थियो । सुनाकोठीको गुठीले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।