काठमाडौं – आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वती पूजा गर्ने विशेष दिन। माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमीलाई बालबालिकालाई शिक्षारम्भ गर्ने शुभ दिनको रूपमा लिइन्छ।
आजकै दिन विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन तथा खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ।