अध्ययनले भन्छ– वाइनले कोभिड संक्रमणको जोखिम कम गर्छ बियर घातक

लण्डन – बेलायतको बायोब्यांकले गरेको एक अध्ययनमा हाम्रो मदिरा पिउने बानीले कोभिड संक्रमणको जोखिमलाई केकसरी प्रभाव पार्छ भन्नेमा खोज गरिएको थियो । यसै क्रममा वाइन पिउने गर्नुले संक्रमणको खतरा कम गर्न सक्ने पत्ता लागेको हो ।

उता बियर प्रेमीहरुका लागि चाहिँ नराम्रो समाचार रहेको छ । रिसर्चको डाटा अनुसार बियर र साइडर पिउनेहरुमा कोभिड संक्रमणको जोखिम अन्य कुनै मदिरा नपिउनेहरुको तुलनामा अत्यन्तै धेरै रहेको पाइएको हो ।

यो अध्ययन ‘फ्रन्टियर्स अफ न्युट्रिसन’ मा प्रकाशित भइसकेको छ । यसमा ४ लाख ७३ हजार भन्दा धेरै मानिसहरुको मेडिकल रेकर्ड अध्ययन गरिएको हो । यसमा कोभिड महामारीको अवधिभरि उनीहरुको मदिरा उपभोगको निरीक्षण गरिएको थियो ।

तर यस्तो निष्कर्ष निकाले पनि अध्ययनले मदिरा र स्वास्थ्य बीचको सम्बन्ध भने स्पष्ट रुपमा स्वीकार गरेको छ । अत्याधिक मात्रामा मदिरा सेवन गर्नुको नराम्रा असरबारे सबैलाई थाहा छ । अध्ययनले भनेको छ, “मदिरा सेवन र रोगहरुबीचको सम्बन्ध प्रायः अप्रत्यक्ष हुने गर्दछन् । जस्तै कम देखि मध्यम स्तरमा मदिराको उपभोग सुरक्षात्मक साबित हुन सक्छ भने अधिक मात्रामा सेवन गर्नु चाहिँ हानिकारक हुनेछ । ”

रिसर्चको डाटामा पत्ता लागे अनुसार मदिरा नपिउनेको तुलनामा रेड वाइन पिउनेहरुमा कोभिड–१९ को जोखिम १० देखि १७ प्रतिशत कम हुन्छ । त्यस्तै ह्वाइट वाइन या स्याम्पियन सेवन गर्नेहरुमा चाहिँ संक्रमणको जोखिम ७ देखि ८ प्रतिशत कम हुने गर्दछ ।

अर्कोतर्फ बियर र साइडर पिउने मानिसहरुमा चाहिँ कोभिडको जोखिम केही नपिउनेको तुलनामा २८ प्रतिशतले बढी रहेको पाइएको हो ।

यस निष्कर्षका लागि ‘पोलिफेनोल’ नामक तत्वको भूमिका प्रमुख हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ । पोलिफेनोलले एन्टिअक्सिडेन्ट गुण दिन्छ र यसकारण नै मदिराहरुमा पनि रेड वाइनले कोभिडको जोखिम सबैभन्दा कम गराउने पाइएको उनीहरुले बताए ।

त्यसैले हप्तामा एक देखि दुई ग्लाससम्म वाइन या स्याम्पियन पिउने गर्नुले कोभिड हुने जोखिम वास्तवमै कम गराउन सक्ने अध्ययनले अन्तिममा उल्लेख गरेको छ ।