आमाको जन्मदिनमा छोरीको सहयोग

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका वडा नं. १२  निवासी पार्वती थापाले आफ्नो जन्मदिन १२ नं. वडामा रहेको मानवसेवा आश्रममा मनाउनु भएको छ । आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रममा रहेका सहयोगापेक्षीहरुसँग जन्मदिन मनाएर उहाँहरुलाई खुसी बनाउने चाहना अनुरुप आफूले जन्मदिन मानव सेवा आश्रममा मनाएको थापाले बताउनु भयो ।

यस्तै आमाको जन्मदिनमा अमेरिकामा रहँदै आएकी समाजसेवी जयन्ती थापाले १७ हजार नगर सहयोग गर्नुभएको जयन्तीका पिता धर्मजंग थापाले बताउनु भयो । यता आश्रममा जन्मदिन मनाउन पुग्नुभएकी आमा पार्वती थापाले आफ्नो तर्फबाट आश्रममा आश्रितहरुलाई एकछाक खाना खुवाउनु भएको छ । ‘जन्मदिनमा मानव सेवा आश्रममा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई एक छाक खाना खुवाउन पाएँ जसले गर्दा जन्मदिन मनाएको सार्थक लागेको छ’ पार्वती थापाले भन्नुभयो ।

समाजसेवी जयन्ती थापा

विपन्न र समस्यामा परेकाहरुलाई सहयोग गर्दै आउनु भएकी जयन्ती थापाले आफ्नो आमाको जन्मदिनको अवसरमा मानवसेवा आश्रममा सहयोग गर्न पाएको आफूलाई निकै खुसी लागेको बताउनु भयो ।

आश्रममा जन्मदिन मनाएर सहयोग र हौसला प्रदान गरेकोमा मानवसेवा आश्रम कर्णाली प्रदेशका सिर्जना वलीलगायतले जन्मदिनको शुभकामनासहित जयन्तीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । यस्तै मनकारीहरुको सहयोगका कारण आश्रम संचालनमा सहयोग पुगेको वलीको भनाई थियो ।