समाजवादी प्रेस संगठन सुर्खेतको नेतृत्व चयन, अध्यक्षमा राना

सुर्खेत – नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल सुर्खेत गठन गरिएको छ । शनिबार संगठनको पहिलो जिल्ला भेलाले युगआह्वान दैनिकमा कार्यरत देवबहादुर रानाको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नव गठित कार्यसमितिको खुला उपा–अध्यक्षमा नेपाल दर्शन डटकमका युवराज पंगाली र सत्यपत्रिकाकी चन्द्रा कँडेल महिला उपा–अध्यक्षमा चयन भएका छन् ।

यस्तै, सचिवमा साझाविसौनी दैनिकमा कार्यरत रजनी योगी, सह–सचिवमा प्रदेश एफएमका शंकर किसोर अभय र बुलबुले एफएममा कार्यरत कल्पना ढेङ्गा मगर चयन भइन् भने, कोष–अध्यक्षमा ओम शाही सर्वसम्म चयन भएका छन् । शाही खुलानेपाल डटकममा कार्यरत छन् ।

यस्तै, कार्यसमितिको सदस्यमा आरति चौधरी, गोपाल शर्मा, कालीबहादुर बोहोरा र वसन्त विक चयन भएका छन् भने बाँकी चार जना सदस्य नव गठित कार्यसमितिले मनोनयन गर्ने छ ।

भेलाको उद्घाटन नेकपा समाजवादी प्रदेश कमिटी अध्यक्ष एवम् पूर्व भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा र पार्टीका जिल्ला अध्यक्ष मोहन बडुवालले गरेका थिए ।

भेलामा समाजवादी प्रेस संगठनका केन्द्रीय उपा–अध्यक्ष दुर्गा थापा, केन्द्रीय सदस्य दीपक बुढा, सुर्य प्रकाश कँडेल र प्रदेश संयोजक यज्ञराज थापा तथा वरिष्ठ पत्रकार पृथ्वीबहादुर सिंह लगायतको सहभागीता रहेको थियो ।

पत्रकारले न्योचित विचार उठाउनु पर्छ

नेकपा समाजवादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापाले पत्रकारले असल र न्योचित कुरा उठाउनु पर्ने बताएका छन् । समाजवादी प्रेस संगठन सुर्खेत शाखाको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष थापाले भने ‘हामीले विद्रोह नगरेको भए आज लोकतन्त्र नै खतरामा परिसकेको हुने थियो ।’ असल विचारका लागि विद्रोह गर्न सक्नुपर्ने बताउँदै थापाले ‘पत्रकारले असल र न्योचित विचार उठाउनु पर्ने धारणा राखे ।

यस्तै, कार्यक्रममा नेकपा समाजवादी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले लोकतान्त्रिक गणतन्त्रमा व्यक्तिवादलाई मान्न नसकिने भएकाले विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि पनि विद्रोहको आवश्यकता परेकोे बताए ।

संगठनको मूल कर्मबाट विचलित भएर व्यक्तिवाद लाद्ने प्रवृत्तिका विरुद्रमा लाग्नेहरु एकिकृत समाजवादीमा गोलवद्ध भएको र केही साथीहरु विभिन्न कारणले अलमलमा परेको भएपनि अन्तमा समाजवादको बाटोमा एकतावद्ध हुनेमा आफू विश्वस्त रहेको बडुवालको भनाई थियो ।