श्रीमतीको हत्या गरेर घरभित्रै खाल्डो खनेर पुर्ने सीताराम पक्राउ

विराटनगर –  धनकुटा नगरपालिका–४ छारागाँउ का ५५ वर्षीय सीताराम श्रेष्ठ र श्रीमती सीता श्रेष्ठ पुस १६ गते बेलुकादेखि एकाएक बेपत्ता भए । स्थानीय उद्योगमा श्रम गरेर सामान्य जीवनयापन गरिरहेका उनीहरुबीच घरमा कहिलेकाँहि सामान्य झगडा हुन्थ्यो । छिमेकीका अनुसार श्रीमान श्रीमतीबीच हुने वादविवाद बेलाबेला सुनिन्थ्यो । तर, पुस दोस्रो साता एकाएक दुबैजना हराएपछि छिमेकीहरु पनि छक्क परे । के भएको हो भन्ने धेरैले थाहा पाउन सकेनन् ।

दम्पती बेपत्ताबारे प्रहरीमा जानकारी आयो । उनीहरुको खोजी शुरु भयो । बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले सीतारामलाई गत आइतबार काठमाडौंमा फेला पार्यो । तर, साथमा श्रीमती सीता थिइनन् । लगत्तै प्रहरीले सोधपुछ र अनुसन्धान अघि बढायो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले भने, “सीताराम फेला परे पनि श्रीमती साथमा थिइनन् । सोधपुछ गरियो । उनले श्रीमतीको हत्या गरेर भागेको सुनाए । त्यसपछि हामीले थप अनुसन्धान अघि बढायौं ।” डीएसपी कार्कीका अनुसार सीताले मदिरा सेवन गरेको विषयमा दम्पतीबीच विवाद भएको थियो । साँझ सीतारामले कुटपिट गरेका थिए । कुटपिटकै क्रममा उनको मृत्यु हुन पुगेको प्रहरी समक्ष बयान दिएका छन् ।

काठमाडौमा पक्राउ परेका सीतारामले प्रहरी समक्ष श्रीमतीलाई घरभित्रै खाल्डो खनेर गाडेको बताए । त्यहाँ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उत्खनन् गर्यो । हेर्दा शव सढेगलेको अवस्थामा फेला पर्यो । श्रीमानउपर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

“दम्पतीबीचको विवाद र थप असमझदारी अनि घटनाबारे हामीले मिहीन ढंगले अनुसन्धान गरिरहेका छौं,” डीएसपी कार्कीले सुनाए ।