भारतविरुद्धको वानडेमा दक्षिण अफ्रिकाको क्लिनस्विप

दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको वानडे सिरिजमा क्लिनस्विप गरेको छ। दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम सिरिजमा खेलमा भारतमाथि चार रनको रोमाञ्चक जित निकालेको हो।

२ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ दशमलव २ ओभरमा २ सय ८३ रनमा अल आउट भयो। भारतका विराट कोहलीले ८४ बलमा ५ चौकासहित सर्वाधिक ६५ रन बनाए। ओपनर शिखर धवन ७३ बलमा ५ चौका र १ छक्कासहित ६१ रनमा क्याच आउट भए।

दक्षिण अफ्रिका एन्डिले फेहलुक्वायोले ७ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। लुन्गी एनगिडीले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए। ड्वेन प्रेटिरियसले २, सिसान्डा मगला र केशव महाराजले १–१ विकेट लिए।

त्यसअघि केप टाउनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका ४९ दशमलव ५ ओभरमा २ सय ८७ रनमा अल आउट भएको थियो। दक्षिण अफ्रिका क्विन्टन डि ककले १ सय ३० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय २४ रनको शतकीय योगदान दिए। रास्सी भान डर डुसेनले ५९ बलमा ४ चौका र १ छक्कासहित ५२ रनमा आउट भए।

भारतका प्रसिद्ध कृष्णाले सर्वाधिक ३ विकेट लिए। दीपक चाहर र जस्प्रित बुमराहले २–२ विकेट लिए। युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो।

दक्षिण अफ्रिका पहिलो ओडिआई खेलमा ३१ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो। भारतसँगको तीन टेस्ट सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले २–१ ले जितेको थियो।