काठमाडौं – सुडानलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । क्यामरुनमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको समुह ‘डि’ को खेलमा इजिप्टले सुडानलाई १–० ले पराजित गरेको छ ।
जितसँगै इजिप्टले समुहका तिन खेलबाट ६ अंक जोडेको हो । सबै तीन खेल जितेको नाइजेरिया ९ अंकको साथ समुह विजेता बन्दै अर्को चरणमा उक्लिएको छ ।
गएराति भएको खेलमा नाइजेरियाले गिनी बिसाउलाई ३–१ ले पाखा लगाएको छ । सो समुहमा सुडान र गिनी बिसाउले १–१ अंक मात्रै जोडेका छन् । अफ्रिका कप फुटबलमा आज राती चार खेल हुनेछन् ।
समुह ‘ई’ का खेलहरुमा आइभोरी कोष्ट र अल्जेरिया तथा सिएरा लियोन र इक्वेटोरियल गिनी भिड्दा समुह ‘एफ’ मा गाम्बिया र ट्युनिसिया तथा माली र मौरितानियाबिच खेल हुनेछन् ।