जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं – कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् ।

अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो । उनी मेलबर्नबाट दुबई प्रस्थान गरेका छन् ।

अष्ट्रेलियन ओपन खेल्न १० दिनअघि मेलबर्न पुगेका जोकोभिचलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएर उनको भिसा रद्द गरिदिएका थिए ।

यो निर्णय विरुद्ध अदालत गएका जोकोभिचलाई त्यतिबेला अदालतले रिहा गर्न आदेश दिएको थियो । तर, प्रशासनले फेरि दोस्रो पटक फरक कानुनी आधारमा उनको भिसा रद्द गरिदिएको थियो । यसको विरुद्ध पनि अदालतमा अपिल गरेका जोकोभिचले मुद्दा हारेपछि गएराति उनलाई फिर्ता पठाईएको हो ।

यो सँगै अष्ट्रेलिया सरकार र जोकोभिचको १० दिनसम्म चलेको भिसा प्रकरण समाप्त भएको छ भने सर्वियन टेनिस स्टार जोकोभिचले वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन गुमाएका छन् ।