पुलिससँग कर्णाली ८९ रनले पराजित


काठमाडौं – प्रधानमन्त्री कप टि(२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गरेको छ।

शुक्रबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा पुलिसले कर्णालीलाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना समेत बलियो बनाएको छ। जितसँगै पुलिस ६ अंकका साथमा समूह ‘ए’मा शीर्ष स्थानमा रहन सफल भएको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले २० ओभरमा ६ विकेट गुमाएर २४४ रन बनाएका थिए। पुलिसलाई उच्च स्कोरमा पुर्‍याउने क्रममा ओपनर कुशलले ३९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८२ रनको सानदार इनिङ खेल्दा दीपेन्द्रसिंहले २८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६२ रनको स्कोर बनाए।

त्यस्तै‚ पवन सर्राफले २२ रन बनाउँदा आरिफ शेख ९ बलमा १८ रन बनाएर नटआउट रहे। दीलिप नाथले १० बलमा ३१ रनको नटआउट इनिङ खेले। कप्तान मन्जित श्रेष्ठले १९ रन बनाएका थिए।

कर्णालीका लागि अनुज चुनरा, प्रकाश जैशी र रविन्द्र शाहीले समान २-२ विकेट लिएका थिए। अंक तालिकामा पुलिसले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ। जवाफमा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो।

कर्णालीका लागि प्रकाश जैशीले ४७ बलमा ६८ रनको अर्धशतकीय इनिङ खेले। प्रकाशबाहेक अन्यको प्रदर्शन भने निराशाजनक रह्यो। दिवन पुन १७ रनमा अविजित फर्किंदा दिनेश अधिकारी र मनिष थापाले समान १५-१५ रन बनाए। पुलिसका लागि दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान २-२ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *