काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकमा ३५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ नमुना ९२९२२ पीसीआर र ६३१ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधीमा २७१ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या १४ हजार ३४० पुगेको छ ।
काठमाडौं उपत्यकामा आज १९१६ जना संक्रमित पुष्टि भएका छन् । जसमध्ये काठमाडौंमा १४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० संक्रमित थपिएका छन् । आजको दैनिक संक्रमणदर २३.५५ छ ।
काठमाडौं उपत्यकासहित आज कास्की र मोरङ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी पुष्टि भएको छ । आज हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोना पुष्टि भएको छ । मुगुमा मात्र संक्रमणशून्य छ ।
देशभरको औषत संक्रमणदर १६।९ प्रतिशत छ । ३ लाख ५६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य सेवा प्रभावित
त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक दिनेश काफ्लेले दिएको जानकारी अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेका छन् ।उनले भने, अहिले उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई लक्षण देखिएको छैन् । केहीलाई मात्रै लक्षणहरु छन् ।’
स्वास्थ्यकर्मीहरु विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मीहरु यसरी नै प्रभावित भएपनि स्वास्थ्य प्रणालीमा ठूलो समस्या आउन सक्ने उनले बताए । चिकित्सकहरु संक्रमित हुँदा ननकोभिड विरामीहरुले पाउने सेवा समेत प्रभावित हुने उनको भनाई छ ।
त्यहाँ अहिले ३५ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् । डा. काफ्लेले गत साता भन्दा विरामीको चाप पनि अस्पतालमा बढेको बताए ।