सुर्खेत – जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले स्वागत तथा सम्मान गरेको छ । थाइल्यान्डमा हालै सम्पन्न एसियन अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम हुन सफल बुढालाई प्रदेश सरकारले सम्मान गरेको हो ।
उनले प्रतियोगितामा १ सय १० किलोमिटर लामो दौडमा प्रथम स्थान हासिँल गरेकी हुन् । सुनमायालाई कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतमा स्वागत तथा सम्मान गरेका हुन् । उनलाई सम्मान स्वरुप प्रदेश सरकारले दुई लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।
सोमबार प्रदेश राजधानी वीरेन्द्रनगर पुगेकी सुनमायालाई विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सयौं सुनमायाहरु रहेको तर्क गरे । सुनमाया जस्ता धावकहरुको पहिचान गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
उनले कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम समेत सुरु गरिएको जानकारी दिए । उनका अनुसार नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको छ । मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए ।