हत्या आरोपीबाट प्रहरीमा फैलियो कारोना, महाराजगञ्जका २२ जना संक्रमित

काठमाडौं – महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो । त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको एसएसपी दीपक थापाले अनलाइनखबरलाई बताए ।

जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।अनलाइनखबर