विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ।

विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको मागसहित बुधबार उजुरी परेको हो।

चौधरीको पद खारेज गरी आफ्नो नाम राख्न माग गर्दै सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन समितिमा निवेदन दिएका हुन्।

चौधरी मधेशी कोटाअन्तर्गत उम्मेदवार थिए। विधानमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख भएको र चौधरीको उक्त अवधि नपुग्ने दाबी यादवले गरेका छन्।

‘मधेशी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ मा नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ,’ उजुरीमा भनिएको छ।