सुर्खेतमा ११ हजार बढी मतदाता थपिए


सुर्खेत – सुर्खेतमा ११ हजारभन्दा बढी मतदाता थपिएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालयका सुर्खेतका अनुसार पछिल्लो पटक संकलन गरिएको मतदाता नामावली अनुसार सुर्खेतमा ११ हजार ४ सय १४ जना मतदाता थपिएका हुन् । जसमध्ये ५ हजार २ सय ७७ जना महिला र ५ हजार १ सय ३७ जना पुरुष मतदाता थपिएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

योसँगै सुर्खेतमा मतदाताको संख्या २ लाख १४ हजार ४ सय १४ जना पुगेको छ । अघिल्लो निर्वाचनमा सुर्खेतमा २ लाख ३ हजार मतदाता थिए । आगामी निर्वाचनको तयारी स्वरुप निर्वाचन कार्यालयले गएको मंसिर १७ गतेदेखि यही पुस १८ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन थालेको थियो ।

कार्यालयले पहिलो चरणमा सुर्खेतको सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका, चौकुने गाँउपालिका, लेकबेशी नगरपालिका र दोस्रो चरणमा गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र बराहतालमा गाउँपालिकामा पुगेर फोटोसहितको मतदाता नामावली संकलन गरेको हो ।

मतदाता नामावली संकलन अभियानका क्रममा भेरीगंगा नगरपालिकामा सबैभन्दा धेरै र चिङ्गाडमा सबैभन्दा कम मतदाता थपिएका छन् । भेरीगंगामा २ हजार ६७ जना मतदाता थपिदा चिङ्गाडमा १ सय ९८ जना मतदाता थपिएका छन् । त्यस्तै गुर्भाकोटमा १ हजार ४ सय २ जना, सिम्तामा ५ सय ४१ जना, चौकुनेमा ६ सय ५६ जना लेकवेशीमा ९ सय ८४ जना र बराहतालमा ५ सय चार जना मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालयले हरेक स्थानीय तहमा १५ दिन लगाएर मतदाता नामावली संकलन गरेको थियो । पालिकाका केन्द्रमा पुगेर मतदाता नामावली संकलन गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख चालिसेले बताए । त्यस्तै इलाका प्रशासन कार्यालय बाबियाचौरबाट १ हजार ५४ जना, प्रदेश निर्वाचन कार्यालय सुर्खेतबाट १ हजार दुई सय ९३ जना र जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट १ हजार ७ सय १४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।

आगामी निर्वाचनको तयारी स्वरुपम आयोगले गाउँगाउँमा पुगेर मतदाता नामावली संकलन गरेको थियो । स्थानीय तहका पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिन साढे पाँच महिना बाँकी छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने काननी प्रावधान छ । त्यसैको तयारी स्वरुप नामावली संकलन गरिएको हो ।