सुर्खेत – राष्ट्रिय सहकारी बैंकको एकाई साधारण सभा सुर्खेतमा आजदेखि सुरु भएको छ । वीरेन्द्रनगरमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आज) आइतबार साधारण सभाको आयोजना गरिएको जानकारी दिइएको हो । सभामा कर्णाली प्रदेशभरका ६ सय सहकारीका प्रतिनिधि सहभागी छन् ।
गत कात्र्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार सातवटै प्रदेशमा सभाको आयोजना गरिएको छ । सबै प्रदेशमा साधारण सभा सम्पन्नगरि केन्द्रमा हुने साधारण सभामा सहभागी हुनका लागि प्रतिनिधी समेत छनौट गरिने राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप गुरागाँइले जानकारी दिए ।
उनका अनुसार देशभर १४ हजार बढि सहकारीहरुलाई आवद्ध गराई ६८ वटा शाखाबाट राष्ट्रिय सहकारी बैंकले सेवा दिइरहेको छ । गुरागाँइले बैंकको केन्द्रिय सभा पौष ३० गते गर्ने तयारी गरिएको जनाए ।
यसअघिका वर्षहरुमा केन्द्रिय सभा मात्रै गर्ने गरिएपनि यसपटकदेखि सबै प्रदेशमा सभा गरि केन्द्रिय प्रतिनिधि छनौट गर्ने तयारी गरिएको उनले बताए ।
२०६० सालमा सहकारी मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उकास्ने उदेश्यले दर्ता भएको राष्ट्रिय सहकारी बैंकले १८ औं साधारणसभा गर्न लागेको गुरागाँइले जानकारी दिए ।