बड्डीचौर खानेपानी र नगर विकास कोषबीच ३ करोड ऋण सम्झौता

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । संस्था र नगर विकास कोष बीच ३ करोड १८ लाख ७४ हजार ८ सय रुपैयाँको ऋण सम्झौता भएको छ ।

बड्डीचौर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको तर्फबाट अध्यक्ष अर्जुन कुमार बुचा मगर र नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ लागत मध्ये ७० प्रतिशत अर्थात ११ करोड १५ लाख ६१ हजार ८ सय रुपैयाँ नेपाल सरकारले अनुदान स्वरुप प्रदान गर्नेछ भने आयोजनाको १० प्रतिशत अर्थात १ करोड ५९ लाख ४ सय रुपैयाँ उपभोक्ताले आफै व्यहोर्नु पर्नेछ ।

सह लगानीबाट निर्माण हुने आयोजनाबाट करिव १२ सय घरधुरी खोनेपानीको पहुँचमा पुग्नेछन् । आयोजनाबाट बराहताल गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ का थप १२ सय बढी घरपरिवार लाभान्वित हुने अध्यक्ष मगरले जानकारी दिए । उनका अनुसार छुट्टा छुट्टै तीन वटा मुहानको पानी संकलन गरी हाल संचालन भएअनुसार नै प्रशोधन गरी उपभोक्तालाई पानी वितरण गरिनेछ । २०६४ सालमा सुरु भएको बड्डीचौर खानेपानी आयोजना मार्फत सुरुमा १ सय ६४ सार्वजनिक धारा निर्माण गरिएका थिए । १२ सय घरधुरीलाई पानीको पहुँच पु¥याएको संस्थाले पानीको क्षमता विस्तारका लागि आयोजना पुनः निर्माण गर्न लागेको हो । सोही अनुरुप संस्थाले नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८ सय रुपैयाँ ऋण लिन लागेको अध्यक्ष मगरले जानकारी दिए ।

बराहताल गाउँपालिकाको वडा नं. ५ को अमलाखाली, आम्पानी, रोक्सेनी र चेपाङ लगायत बस्तीमा मात्र ७५० घरपरिवार उपभोक्ता छन् । यस्तै वडा नंं ६ को वसन्तपुर, बुर्ती लगायत बस्तीका करिब सवा दुईसय भन्दा बढी घरले पनि बड्डीचौर खानेपानी संस्थाकै पानी उपभोग गर्छन् भने वडा नं. ७ को पिङआले, घुम्ती र नयाँबन लगायत बस्तीमा पनि करिब २ सय घरपरिवारले संस्थाको पानी उपभोग गरि रहेका छन् । उनका अनुसार चेपाङ र रोक्सेनीका नागरिक अझैे पनि भेरी र सोतखोलाको धमिलो पानी पिउन बाध्य छन् ।

अध्यक्ष मगरका अनुसार अब निर्माण गर्न लागिएको आयोजनाको पहिलो मुहानबाट प्रति सेकेण्ड साढे १० लिटर, दोस्रोबाट तीन लिटर र तेस्रो मुहानबाट प्रति सेकेण्ड ४ लिटरको दरले पानी संकलन हुनेछ । बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको गत असारमै ठेक्का सम्झौता भएको र ठेकेदार कम्पनीले पाइप खरिद लगायत निर्माण कार्य गरिरहेको छ । संस्था र कोषबीच भएको ऋण सम्झौताको जमानी भने बराहताल गाउँपालिका रहेको छ ।